नयाँ नियमNNRV

तीतस 2

1तिमीले चाहिँ जे पक्‍का धार्मिक-सिद्धान्‍त सुहाँउदो छ त्‍यही सिकाऊ।

2वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।

3यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।

4तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न,

5र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।

6त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ।

7सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता,

8र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।

9कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।

10तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌।

11किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ,

12जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।

13र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।

14ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो। ⓣ

15यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।