नयाँ नियमNNRV

प्रकाश 12

1स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई।

2त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई।

3अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो। ⓑ

4त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो। ⓒ

5त्‍यस स्‍त्रीले सारा जातिलाई फलामको डन्‍डाले शासन गर्ने एउटा छोरो जन्‍माई। त्‍यसको बालक परमेश्‍वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो। ⓓ

6त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो।

7अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे, ⓔ

8तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।

9त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए। ⓕ

10तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति,राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ।किनकि हाम्रा भाइहरूलाई दोष लगाउने,जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाईदिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ। ⓖ

11तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्,र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।

12यसकारण हे स्‍वर्गमा रहनेहरू,तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार छ!किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलसठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ।”

13जब त्‍यस अजिङ्गरले आफू पृथ्‍वीमा फ्‍याँकिएको देख्‍यो, तब त्‍यसले छोरो जन्‍माउने त्‍यस स्‍त्रीलाई खेद्‌यो।

14तर त्‍यस स्‍त्रीलाई त्‍यस सर्पको सम्‍मुखबाट उजाड-स्‍थानमा उड़ेर जानलाई ठूलो गरुडका दुई पखेटा दिइए। त्‍यो उजाड-स्‍थान साढ़े तीन वर्षसम्‍म त्‍यस स्‍त्रीको पालनपोषणको निम्‍ति तयार गरिएको थियो। ⓗ

15त्‍यस स्‍त्रीलाई बाढ़ले बगाओस्‌ भनेर त्‍यस सर्पले स्‍त्रीको पछि आफ्‍नो मुखबाट नदीजस्‍तै पानी निकाल्‍यो।

16तर पृथ्‍वीले त्‍यस स्‍त्रीलाई सहायता गर्‍यो, र अजिङ्गरले आफ्‍नो मुखबाट निकालेको नदी पृथ्‍वीले आफ्‍नो मुख उघारेर निलिदियो।

17तब त्‍यो अजिङ्गर त्‍यस स्‍त्रीसँग क्रोधित भयो, र त्‍यसका बाँकी सन्‍तानसँग युद्ध गर्न गयो— अर्थात्‌ तिनीहरूसँग, जुनहरूले परमेश्‍वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्‍छन्‌।

18अनि त्‍यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो।