पुरानो नियमNNRV

भजनसंग्रह 98

1परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्‍मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्‍ति उद्धारको काम गरेका छन्‌।

2परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ,र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।

3इस्राएलका घरानामाथि गर्नुभएको आफ्‍नो करुणा र आफ्‍नो विश्‍वसनीयता परमप्रभुले सम्‍झनुभएको छ। हाम्रा परमेश्‍वरको उद्धारपृथ्‍वीको हरेक कुनाले देखेको छ।

4हे सारा पृथ्‍वी, आनन्‍दसँग परमप्रभुको जयजयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर।

5परमप्रभुको निम्‍ति वीणाको लय निकाल, वीणा र मधुर सुरले,

6तुरही र भेड़ाको सीङले परमप्रभु महाराजाको सामुन्‍ने आनन्‍दको उद्‌घोषण गर।

7समुद्र र त्‍यसमा भएका सबै प्राणीले गुञ्‍जायमान गरून्‌,र संसार र त्‍यहाँ वास गर्ने सबैले पनि।

8नदीका तरङ्गहरूले ताली बजाऊन्‌, पहाड र पर्वत आनन्‍दले एकसाथ गाऊन्‌,

9तिनीहरूले परमप्रभुको सम्‍मुख गाऊन्‌। किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। उहाँले धार्मिकता र निष्‍पक्षतासाथ संसारका मानिसहरूको न्‍याय गर्नुहुनेछ।