पुरानो नियमNNRV

भजनसंग्रह 80

1सङ्गीत-निर्देशकको निम्‍ति “करारका लिली फूल” को रागअनुसार आसापको भजन [1] हे इस्राएलका गोठाला, कान थाप्‍नुहोस्‌, ⓒ तपाईं, जसले योसेफलाई भेड़ाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्‍छ। तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्‍छ, प्रकाशमान्‌ हुनुहोस्‌।

2एफ्राइम, बेन्‍यामीन र मनश्‍शेको सामुन्‍ने आफ्‍नो सामर्थ्‍य जगाउनुहोस्‌,र हामीलाई बचाउन आउनुहोस्‌।

3हे परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।

4हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, आफ्‍नो प्रजाका प्रार्थनाको विरुद्ध तपाईंको क्रोध कहिलेसम्‍म दन्‍किरहन्‍छ?

5तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ,र पिउनलाई आँसु प्रशस्‍त मात्रामा दिनुभएको छ।

6तपाईंले हामीलाई छिमेकीहरूका लागि झगड़ाको स्रोत तुल्‍याउनुभएको छ,र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्‌।

7सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।

8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्‍याउनुभयो, तपाईंले अरू जातिहरूलाई धपाएर त्‍यो बोट रोप्‍नुभयो।

9तपाईंले त्‍यसको निम्‍ति भूमि तयार पार्नुभयो,र त्‍यसको जरो गड़्यो र त्‍यो देशभरि फैलियो।

10पहाड़हरू त्‍यसको छायाले ढाकिए,र त्‍यसका हाँगाबिँगाले शक्तिशाली देवदारुका रूखहरू छोपिए।

11त्‍यसका हाँगाहरू समुद्रसम्‍म गए, अनि त्‍यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्‍मै फैलिए।

12त्‍यसका पर्खालहरू तपाईंले किन भत्‍काइदिनुभएको छ,र त्‍यहाँबाट जाने सबैले त्‍यसको फल टिपून्‌?

13जङ्गलको बनेलले त्‍यसलाई नष्‍ट पार्छ,र जङ्गली जनावरहरू त्‍यसमा चर्छन्‌।

14सर्वशक्तिमान्‌ परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्‌। स्‍वर्गबाट तल दृष्‍टि गर्नुहोस्‌, यस दाखका बोटको हेरचाह गर्नुहोस्‌—

15तपाईंको आफ्‍नो दाहिने बाहुलीले रोप्‍नुभएको त्‍यस बिरुवाको त्‍यस छोराको, जसलाई तपाईंले आफ्‍नो लागि हुर्काउनुभएको छ।

16तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढ़ाइएको छ। तपाईंको हप्‍कीमा तपाईंका जनहरू नष्‍ट हुन्‍छन्‌।

17तपाईंको दाहिने पट्टिको मानिसमाथि तपाईंको हात रहोस्‌, त्‍यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्‍नो निम्‍ति खड़ा गर्नुभएको छ।

18तब हामी तपाईंबाट कहिल्‍यै पिठिउँ फर्काउनेछैनौं, हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्‌,र हामी तपाईंका नाउँको पुकारा गर्नेछौं।

19हे परमप्रभु, सर्वशक्तिमान्‌ परमेश्‍वर, हामीलाई पुनर्स्‍थापना गर्नुहोस्‌, आफ्‍नो मुहार हामीमाथि चम्‍काउनुहोस्‌, र हामी बाँच्‍न सकौं।