पुरानो नियमNNRV

भजनसंग्रह 108

1सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] हे परमेश्‍वर, मेरो हृदय स्‍थिर छ, ⓥ म गाउनेछु, र मेरो सम्‍पूर्ण प्राणले म राग बजाउनेछु।

2हे वीणा र सारङ्गी, जागा होओ! म प्रभातलाई जगाउनेछु।

3हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु, मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।

4किनकि तपाईंको करुणा महान्‌ छ, स्‍वर्गभन्‍दा पनि उच्‍च छ,र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।

5हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।

6तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस्‌ र मदत गर्नुहोस्‌, ⓦ र तपाईंले प्रेम गर्नुभएकाहरूले छुटकारा पाऊन्‌।

7परमेश्‍वरले आफ्‍नो पवित्रस्‍थानबाट भन्‍नुभएको छ, “विजयमा शकेमलाई विभाजन गर्नेछु,र सुक्‍कोतका बेँसी नापेर छुट्ट्याउनेछु।

8गिलाद मेरो हो, र मनश्‍शे पनि मेरै हो, एफ्राइम मेरो टोप हो, यहूदा मेरो राजदण्‍ड हो।

9मोआब मेरो पानीको बाटा हो, एदोममाथि म आफ्‍नो जुत्ता फाल्‍छु। पलिश्‍तमाथि म विजयसाथ कराउँछु।”

10कसले मलाई किल्‍ला भएको सहरमा पुर्‍याइदेला? एदोमसम्‍म मलाई कसले डोर्‍याउला?

11हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्‍याग्‍नुभएको छ,र अब हाम्रा सेनाहरूका साथमा जानुहुन्‍न?

12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्‌, किनकि मानिसको सहायता त व्‍यर्थको हुन्‍छ।

13परमेश्‍वरद्वारा हामी विजय प्राप्‍त गर्नेछौं,र उहाँले हाम्रा शत्रुहरूलाई कुल्‍चनुहुनेछ।