पुरानो नियमNNRV

हितोपदेश 8

1के बुद्धिले चर्को स्‍वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्‍नो आवाज उच्‍च पार्दैन र? ⓧ

2बाटोका उच्‍च ठाउँहरूमा, चौबाटोमा त्‍यो खड़ा हुन्‍छ,

3सहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, त्‍यो चर्को स्‍वरले यसरी कराउँछ:

4“हे मानिसहरू हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव-जातिलाई मेरो आवाज सुनाउँछु।

5हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर।

6सुन, तिमीहरूलाई बताउनुपर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्‍न म मेरो मुख खोल्‍छु।

7मेरो मुखले साँचो कुरा बोल्‍दछ, किनभने मेरा ओठले दुष्‍टता घृणा गर्छन्‌।

8मेरो मुखका सबै वचनहरू न्‍यायपूर्ण छन्, तिनीहरूमध्‍ये कुनै पनि बाङ्गोटिङ्गो छैन।

9विवेकशील व्‍यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्‍ति ती खोटरहित छन्‌।

10चाँदीको सट्टा मेरो उपदेश, उत्तम सुनभन्‍दा त बरु ज्ञान नै खोज,

11किनभने बुद्धि मानिकभन्‍दा बहुमूल्‍य हुन्‍छ,र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।

12म बुद्धि हुँ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छन्‌।

13परमेश्‍वरको भय मान्‍नु दुष्‍टतालाई घृणा गर्नु हो, अभिमान, अहङ्कार, खराब चालचलन र भड्‌काउने कुराहरू म घृणा गर्छु।

14सरसल्‍लाह र उचित फैसला मबाटै हुन्‍छन्, मसँग समझशक्ति र सामर्थ्‍य छन्‌।

15मद्वारा नै राजाहरू राज्‍य गर्छन्,र शासकहरू उचित कानून बनाउँछन्,

16मद्वारा नै राजकुमारहरू राज्‍यव्‍यवस्‍था चलाउँछन्,र सबै उच्‍च अख्‍तियारवालहरू पृथ्‍वीभरि शासन गर्दछन्‌।

17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्‍नेहरूले मलाई भेट्टाउँछन्‌।

18मसँग वैभव र आदर, टिक्‍ने धन-सम्पत्ति र समृद्धि छन्‌।

19मेरो फल निखुर सुनभन्‍दा उच्‍च छ। जे म उत्‍पादन गर्छु, त्‍यसले असल चाँदीलाई उछिनिदिन्‍छ।

20म धार्मिकताको बाटो र न्‍यायको मार्गमा हिँड्‌छु।

21मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु।

22“परमप्रभुले सृष्‍टिको प्रारम्‍भमा नै मलाई सृजनुभयो, ⓨ उहाँका आदिका सबै कामहरूभन्‍दा पहिले नै।

23अनन्‍तदेखि नै मेरो नियुक्ति भएको थियो, सबैभन्‍दा पहिले, संसार सुरु हुनुभन्‍दा पनि पहिले नै।

24महासागर नहुँदै मेरो जन्‍म भएको थियो, पानीले भरिएका खोला-नालाहरू हुनुभन्‍दा अघि नै।

25पर्वतहरू आ-आफ्‍नो स्‍थानमा स्‍थापित हुनुभन्‍दा पहिले नै, पहाड़हरूभन्‍दा अघि नै मेरो जन्‍म भएको थियो।

26उहाँले पृथ्‍वी वा यसका जमिन, वा संसारमा धूलाको कण बनाउनुभन्‍दा अघि नै म सृजिएको थिएँ।

27उहाँले आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुहुँदा,र महासागरलाई क्षितिजले घेर्नुहुँदा, म त्‍यहाँ थिएँ।

28उहाँले बादललाई आकाशमा स्‍थापित गर्नुहुँदा,र महासागरका मूलहरूलाई तिनीहरूका स्‍थानमा दृढ़सँग बसाल्‍नुहुँदा,

29उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा— उहाँको आज्ञाभन्‍दा बाहिर नाघी पानी नजानलाई—र उहाँले पृथ्‍वीका जगहरू बसाल्‍नुहुँदा,

30म एक कारीगरझैँ उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्‍थें, उहाँको उपस्‍थितिमा निरन्‍तर आनन्‍दित भइरहन्‍थें।

31उहाँले बनाउनुभएको सिङ्गो संसारमा आनन्‍दित हुँदै म मानव जातिमा प्रसन्‍न रहन्‍थें।

32अब हे मेरा छोरा हो, मेरो कुरा सुन, तिनीहरू धन्‍य हुन्, जसले मेरा मार्गहरू अपनाउँछन्‌।

33मेरो अर्ती सुन र बुद्धिमान्‌ होओ, त्‍यसको अवहेलना नगर।

34त्‍यही मानिस सुखी हो, जसले मेरो वचन सुन्‍छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्‍छ।

35किनभने जसले मलाई भेट्टाउँछ, त्‍यसले जीवन पाउँछ,र परमप्रभुको निगाह प्राप्‍त गर्छ।

36तर जसले मलाई भेट्टाउन चुक्‍छ, त्‍यसले आफैलाई नोक्‍सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्‍युसित प्रेम राख्‍छ।