पुरानो नियमNNRV

हितोपदेश 4

1हे मेरा छोराहरू हो, आफ्‍नो बुबाको अर्ती सुन, यसमा ध्‍यान देओ र समझशक्ति प्राप्‍त गर।

2किनकि म तिमीहरूलाई उत्तम शिक्षा दिन्‍छु, यसैकारण मेरो अर्तीलाई नत्‍याग।

3जब म आफ्‍ना बुबाको घरमा एक ठिटो थिएँ, कलिलै अवस्‍थाको, र मेरी आमाको एकमात्र छोरा,

4उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, “तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर्‌ र तँ जिउनेछस्‌।

5बुद्धि प्राप्‍त गर्, समझशक्ति प्राप्‍त गर्, मेरा वचनहरू नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।

6बुद्धिलाई नत्‍याग्, र त्‍यसले तँलाई सुरक्षित राख्‍नेछ। त्‍यसलाई प्रेम गर्, र त्‍यसले तँमाथि हेरचाह गर्नेछ।

7बुद्धि अति श्रेष्‍ठ हो, त्‍यसैले बुद्धि प्राप्‍त गर्‌। तँसँग भएका सबै कुराले मूल्‍य चुकाउनुपरे तापनि, समझशक्ति प्राप्‍त गर्‌।

8त्‍यसलाई कदर गर्, र त्‍यसले तँलाई उच्‍च पार्नेछ। त्‍यसलाई अँगाल्, र त्‍यसले तँलाई आदर दिनेछ।

9त्‍यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ,र महिमाको शिरपेच प्रदान गर्नेछ।”

10सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्,र तेरो जीवन दीर्घायु हुनेछ।

11म तँलाई बुद्धिको बाटो सिकाउँछुर सोझो बाटोमा डोर्‍याउँछु।

12तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌।

13अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।

14दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌।

15त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌।

16किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन।

17दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो।

18धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ।

19तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।

20हे मेरो छोरा, मेरो कुरामा ध्‍यान दे, मेरा वचनहरू राम्ररी सुन्‌।

21ती तेरो नजरबाट उम्‍केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्‌।

22किनभने मेरो वचन पाउनेको निम्‍ति त्‍यो जीवन हो,र त्‍यसको सारा शरीरको निम्‍ति स्‍वास्‍थ्‍य हो।

23सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

24कुवाक्‍य तेरो मुखबाट परै रहोस्, भ्रष्‍ट कुराकानी तेरो ओठदेखि टाढ़ै रहोस्‌।

25तेरो आँखाले तेरो अगि सीधा हेरोस्, तेरो अगिल्‍तिर सोझै एक टक लाएर हेरोस्‌।

26तैंले पाइला चाल्‍नलाई नैतिकताको मार्ग तयार गर्‌। ⓥर ती मार्गहरू मात्रै रोज्‌ जुन निश्‍चित छन्‌।

27दाहिने देब्रेतिर नलाग्, सबै दुष्‍ट कुराबाट आफ्‍ना खुट्टा अलग राख्‌।