पुरानो नियमNNRV

हितोपदेश 23

1जब तँ शासकसँग भोजन गर्न बस्‍छस्, तेरो सामुन्‍ने जे राखिएको छ त्‍यो राम्ररी याद गर्,

2यदि तेरो खन्‍चुवा बानी छ भने, तेरो घाँटीमा चक्‍कू राख्‌।

3तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्‍यो भोजन छकाउने हुन्‍छ।

4धनी बन्‍न आफूलाई बेसरी नघोट्‌, बुद्धिमानी बनी संयम गर्‌।

5धनको एक झलक पाइन्‍छ,र त्‍यो गइहाल्‍छ, किनभने त्‍यसका पखेटाहरू पलाउँछन्,र आकाशतिर गरुडझैँ त्‍यो उड़ेर जानेछ।

6कन्‍जुस मानिसको भोजन नखा, त्‍यसको मीठो भोजनको लोभ नगर्,

7किनभने त्‍यो त्‍यस्‍तो किसिमको मानिस हो, जसले त्‍यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्‍छ। त्‍यसले तँलाई “खानुहोस्, पिउनुहोस्‌” भन्‍छ, तर त्‍यसको मन तँसित हुँदैन।

8तैंले त्‍यो थोरै खाएको पनि उकेलिदिनेछस्,र त्‍यसलाई तैंले गरेको अभिवादन त्‍यसै खेर जानेछ।

9मूर्खसँग कुरा नगर्, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।

10प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्‌,

11किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्‍छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।

12तेरो हृदय अर्तीतिर लगा,र तेरा कान ज्ञानका वचनतिर लगा।

13बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन।

14बेत लगाएर त्‍यसलाई सजाय दे,र त्‍यसको प्राण मृत्‍युदेखि बचा।

15हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान्‌ छ भने, मेरो हृदय खुशी हुनेछ।

16मेरो अन्‍तस्‍करण त्‍यस बेला रमाउनेछ, जब तेरो ओठले उचित कुरा बोल्‍दछ।

17तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्‍ति उत्‍सुक भइरह।

18निश्‍चय नै भविष्‍यमा तेरो निम्‍ति आशा छ,र तेरो आशा व्‍यर्थ जानेछैन।

19हे मेरो छोरा, सुन्‌ र बुद्धिमान्‌ बन्,र तेरो हृदय ठीक मार्गमा राख्‌।

20बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्‍म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,

21किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्,र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

22तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए,र आफ्‍नी आमा वृद्ध हुँदा उनको हेला नगर्‌।

23सत्‍य किन्‌ र त्‍यो बिक्री नगर्‌। बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर्‌।

24धर्मी मानिसको बुबा असाध्‍यै आनन्‍दित हुन्‍छ, बुद्धिमान्‌ छोरा आफ्‍ना बुबामा प्रसन्‍न रहन्‍छ।

25तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।

26हे मेरो छोरा, तेरो हृदय मलाई दे,र तेरा आँखाले मेरा बाटो पालन गरून्,

27किनभने वेश्‍या एक गहिरो खाड़ल हो,र व्‍यभिचारिणी स्‍त्री एक साँघुरो इनार हो।

28त्‍यो डाँकूझैँ ढुकिबस्‍छे,र मानिसहरूका माझमा अविश्‍वासीहरूको सख्‍ंया बढ़ाउँछे,

29कष्‍ट कसलाई हुन्‍छ? शोक कसलाई हुन्‍छ? कलह कसलाई हुन्‍छ? गुनासो कसलाई हुन्‍छ? कसलाई अनावश्‍यक चोटपटक लाग्‍छ? कसका आँखाहरू रगतजस्‍ता राता हुन्‍छन्‌?

30तिनीहरूकै जो मद्यमै भुलिरहन्‍छन्, जुनहरू मिश्रित मद्यको प्‍याला चाख्‍न जान्‍छन्‌।

31रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ!

32अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ,र गोमनले झैँ विष हालिदिन्‍छ।

33तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्,र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ।

34महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌।

35तैंले भन्‍नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्‍दैन! तिनीहरू मलाई पिट्‌छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्‍यूझुँला,र म अझ पिउन सक्‍नेछु?”