पुरानो नियमNNRV
1इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्नुभयो। ⓤ
2उहाँले भन्नुभयो, “समस्त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्।
3इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्ती गर्।
4सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्।
5तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर,
6शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल।
7यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन,
8इस्साखारको कुलबाट सूआरको छोरो नतनेल,
9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब,
10योसेफका छोराहरूबाट:एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा,मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल,
11बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान,
12दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर,
13आशेरको कुलबाट ओक्रानको छोरो पगीएल,
14गादको कुलबाट दूएलको छोरो एल्यासाप,
15नप्तालीको कुलबाट एनानको छोरो अहीरा।”
16इस्राएलको समुदायबाट छानिएका आ-आफ्नो पैतृक कुलका नायकहरू यी नै हुन्।
17माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए,
18अनि दोस्रो महिनाको पहिलो दिनमा जम्मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्यसभन्दा उँभोको हरेकको नाउँ दर्ता गरे।
19परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले सीनैको उजाड़-स्थानमा तिनीहरूको गणना गरे।
20इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
21रूबेनको कुलबाटको संख्या ४६,५०० थियो।
22शिमियोनको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
23शिमियोनको कुलबाटको संख्या ५९,३०० थियो।
24गादका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
25गादको कुलबाटको संख्या ४५,६५० थियो।
26यहूदाका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
27यहूदाको कुलबाटको संख्या ७४,६०० थियो।
28इस्साखारको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
29इस्साखारको कुलबाटको संख्या ५४,४०० थियो।
30जबूलूनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
31जबूलूनको कुलबाटको संख्या ५७,४०० थियो।
32योसेफका छोराहरूबाट: एफ्राइमका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
33एफ्राइमको कुलबाटको संख्या ४०,५०० थियो।
34मनश्शेका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
35मनश्शेको कुलबाटको संख्या ३२,२०० थियो।
36बेन्यामीनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
37बेन्यामीनको कुलबाटको संख्या ३५,४०० थियो।
38दानका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
39दानको कुलबाटको संख्या ६२,७०० थियो।
40आशेरका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
41आशेरको कुलबाटको संख्या ४१,५०० थियो।
42नप्तालीका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
43नप्तालीको सन्तानबाटको संख्या ५३,४०० थियो।
44आ-आफ्नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्ती गरेका समस्त मानिसहरूका जनसंख्या यही हो।
45बीस वर्ष र त्यसभन्दा उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषहरू आ-आफ्नो परिवारअनुसार गन्ती गरियो।
46तिनीहरूको संख्या जम्मा ६,०३,५५० थियो।
47लेवीका परिवारहरूचाहिँ अरूहरूसित गनिएनन्।
48किनभने परमप्रभुले मोशालाई भन्नुभएको थियो,
49“लेवीको कुलचाहिँ तैंले नगन्नू, र इस्राएलीहरूसँगसँगै तिनीहरूको जनसंख्या नलिनू।
50तर तैंले लेवीहरूलाई गवाहीको मण्डप र त्यसका सबै सरसामानमाथि नियुक्त गर्नू। मण्डप त्यसका सबै सरसामानसमेत तिनीहरूले नै बोकून्। तिनीहरूले त्यसको रेखदेख गरून्। तिनीहरूले आफ्नो पाल मण्डपकै वरिपरि लगाऊन्।
51मण्डप अगि लाँदा लेवीहरूले त्यो उखेलून्, र मण्डप खड़ा गर्ने बेलामा लेवीहरूले नै त्यो खड़ा गरून्। मण्डपको नजिक आउने अन्य मानिस मारिओस्।
52इस्राएलीहरूले आ-आफ्नो दलको समूहभित्र र आफ्नै झन्डाको छेउछाउमा आफ्नो शिविर लगाऊन्।
53तर लेवीहरूले चाहिँ गवाहीको मण्डपको वरिपरि आफ्नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्। लेवीहरूले नै गवाहीको मण्डपको सेवा-टहलको जिम्मा लिऊन्।”
54परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे।