नयाँ नियमNNRV

मत्ती 2

1हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,

2“यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”

3जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।

4अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।

5तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌:

6‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।” ⓝ

7तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।

8तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”

9तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।

10जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।

11अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

12अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

13तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्‍म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”

14अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले,

15र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्‍ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” ⓞ

16तब ज्‍योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रीसले चूर भए। अनि ज्‍योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए।

17तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो,

18“रामामा एउटा शब्‍द सुनियो, ⓟ डाँको छोडी-छोडी रोएको र विलापको ठूलो आवाज, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना तिनले इन्‍कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्‌।”

19तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने,

20“उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्‍नेहरू मरिसकेका छन्‌।”

21तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के।

22तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।

23तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।” ⓠ