पुरानो नियमNNRV

लेवीहरू 27

1परमप्रभुले मोशालाई भन्‍नुभयो,

2“इस्राएलीहरूलाई भन्‌: ‘कुनै मानिसले भाकल गर्दा मान्‍छेको भाकल परमप्रभुलाई चढ़ायो भने, तिमीहरूको मूल्‍याङ्कनअनुसार

3बीसदेखि साठी वर्षसम्‍मको पुरुषलाई पवित्रस्‍थानका शेकेलबमोजिम [1] चाँदीका पचास शेकेल [2] तोकिदिनू।

4अनि स्‍त्रीलाई चाहिँ चाँदीका तीस शेकेल [3] तोकिदिनू।

5पाँचदेखि बीस वर्षसम्‍मको पुरुषलाई चाँदीका बीस र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।

6महिना दिनदेखि पाँच वर्षसम्‍मको केटालाई चाँदीका पाँच र केटीलाई तीन शेकेल तोकिदिनू।

7साठी वर्षभन्‍दा माथिको पुरुषलाई चाँदीका पन्‍ध्र र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।

8तोकेको मोल तिर्न नसक्‍ने कोही गरीब छ भने त्‍यसले उसलाई पूजाहारीकहाँ ल्‍याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्‌।

9“‘यदि परमप्रभुको निम्‍ति चढ़ाइने बलि ग्रहणयोग्‍य पशु छ भने बलिको पशु पवित्र हुन्‍छ।

10त्‍यसले असलको निम्‍ति कमसल पशु वा कमसलको निम्‍ति असल साट्‌नुहुँदैन। त्‍यसले पशुको सट्टा पशु नै साट्‌छ भने साटेका दुवै पशु पवित्र हुन्‍छन्‌।

11त्‍यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्‍यसले त्‍यस पशुलाई पूजाहारीको सामुन्‍ने ल्‍याओस्‌।

12असल भए पनि कमसल भए पनि पूजाहारीले त्‍यसको मोल तोकून्‌। अनि पूजाहारीले जे दाम तोक्‍छन्‌ त्‍यहीबमोजिम हुनेछ।

13त्‍यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर देओस्‌।

14“‘कसैले परमप्रभुलाई आफ्‍नो घर अर्पण गर्छ भने पूजाहारीले त्‍यो घर राम्रो कि नराम्रो छ सो हेरेर त्‍यसको मोल तोकिदेऊन्। पूजाहारीले जति तोक्‍छन्‌ त्‍यसको मोल त्‍यति नै होस्‌।

15तर अर्पण गर्नेले मोल तिरेर त्‍यो छुटाउने इच्‍छा गर्छ भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यसले देओस्, र त्‍यो घर त्‍यही मानिसको हुनेछ।

16“‘कसैले आफ्‍नो खेतको कुनै भाग परमप्रभुको निम्‍ति अर्पण गर्छ भने त्‍यसमा जाने बीउको अड़कल गरेर तिमीहरूले मोल तोक्‍नू। एक मुरीका बीस शेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बीउ जान्‍छ त्‍यसले मोल तोकोस्‌।

17पुनर्स्‍थापनको वर्षदेखि त्‍यसले आफ्‍नो खेत अर्पण गर्ने हो भने त्‍यसको दाम तोकिएबमोजिम होस्‌।

18तर त्‍यसले आफ्‍नो जमिन पुनर्स्‍थापनको वर्षपछि अर्पण गर्ने हो भने, पुनर्स्‍थापनको वर्ष आउनलाई कति बाँकी छ पूजाहारीले हिसाब गरून्, र तोकेको मोल त्‍यसबाट घटाएर त्‍यसले देओस्‌।

19त्‍यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यसले देओस्, र त्‍यो त्‍यसकै हुनेछ।

20तर त्‍यसले त्‍यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्‍यसले अर्को मानिसलाई त्‍यो खेत बेचेको छ भने, त्‍यसले दाम तिरेर त्‍यो कहिले पनि छुटाउन सक्‍नेछैन।

21त्‍यो खेत पुनर्स्‍थापनको वर्षमा छुट्‌दा, अर्पण गरेको खेतझैँ त्‍यो परमप्रभुको निम्‍ति पवित्र हुनेछ, र त्‍यसको अधिकार पूजाहारीको हुनेछ।

22“‘यदि कुनै मानिसले हकले पाएको होइन तर किनेको खेत परमप्रभुलाई अर्पण गर्छ भने,

23पूजाहारीले पुनर्स्‍थापनका वर्षको हिसाब गरेर त्‍यसको जति मोल तोक्‍छन्‌ त्‍यसले परमप्रभुको निम्‍ति पवित्र ठानेर त्‍यसै दिन देओस्‌।

24पुनर्स्‍थापनको वर्षमा त्‍यो खेत जसबाट किनेको हो, अर्थात्‌ जसको अधिकारमा त्‍यो खेत थियो, त्‍यसलाई नै फिर्ता गरिओस्‌।

25तोकिने मोल सबै पवित्रस्‍थानका चाँदीका शेकेलबमोजिम होस्‌— बीस गेराको एक शेकेल हो।

26“‘पशुहरूले बियाएको पहिलो बच्‍चा, साँढ़ेको होस्‌ वा भेड़ाको होस्, ती अघिदेखि परमप्रभुकै हुन्‌— त्‍यसलाई चाहिँ अर्पण नगर्नू।

27यदि त्‍यो अशुद्ध पशुको हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्‍यो छुटाइओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्‍यो बेचिओस्‌।

28“‘तर परमप्रभुको निम्‍ति अर्पण गरेको मानिस, पशु वा आफ्‍नो जग्‍गाजमिन बिक्री गर्न सकिँदैन र छुटाउन पनि सकिँदैन। अर्पण गरिएको हरेक कुरो परमप्रभुको निम्‍ति अति पवित्र हो। ⓢ

29“‘मानिसहरूमध्‍ये जो नाशको निम्‍ति अर्पण गरिएको छ, त्‍यसलाई मोल तिरेर नछुटाओस्‌। त्‍यसलाई मार्नैपर्छ।

30“‘रूखहरूका फल वा जमिनका ⓣ बीउको होस्, भूमिका उब्‍जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्‍ति पवित्र हुन्‌।

31कसैले आफ्‍नो दशांश मोल तिरेर छुटाउँछ भने, त्‍यसमा पाँचौँ भाग थपेर त्‍यसले देओस्‌।

32गन्‍ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्‍तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्‍ति पवित्र हुनेछ।

33असल वा कमसल पशु त्‍यसले नछुटाओस्‌ र नसाटोस्‌। साट्‌ने नै हो भने, साटेको दुवै पशु पवित्र हुनेछन्, र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्‍नेछैन’।”

34परमप्रभुले इस्राएलीहरूका निम्‍ति सीनै पर्वतमा मोशालाई दिनुभएका आज्ञाहरू यी नै हुन्‌।