नयाँ नियमNNRV

हिब्रू 5

1प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूमध्‍येबाट छानिन्‍छ, र मानिसहरूको पक्षमा पापको निम्‍ति परमेश्‍वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्‍छ।

2अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्‍यवहार गर्न सक्‍तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्‍छ।

3यसैकारण मानिसहरूका पापको निम्‍ति मात्र होइन, तर आफ्‍नै पापको निम्‍ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्‍छ। ⓣ

4कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ। ⓤ

5ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्‍च पार्नुभएन, तर उहाँलाई यसो भन्‍नुहुनेबाट नियुक्त हुनुभयो, ⓥ “तिमी मेरा पुत्र हौ,मैले नै आज तिमीलाई जन्‍माएको छु।”

6अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्‍छ, ⓦ “मल्‍कीसेदेकको दर्जाबमोजिमतिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ।”

7येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। ⓧ

8उहाँ पुत्र हुनुहुन्‍थ्‍यो, तापनि आफूले भोग्‍नुभएको कष्‍टद्वारा उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो,

9र सिद्ध तुल्‍याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्‍ति उहाँ अनन्‍त मुक्तिको स्रोत बन्‍नुभयो।

10मल्‍कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्‍वरद्वारा उहाँ नियुक्त हुनुभयो।

11यस विषयमा हामीलाई भन्‍नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्‍ने शक्ति मन्‍द भएको छ।

12किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ। ⓨ

13दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ।

14खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।