पुरानो नियमNNRV

एज्रा 3

1सातौँ महिना लागेपछि इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसिसकेका थिए। त्‍यस बेला मानिसहरू एउटै मानिसजस्‍तो भएर यरूशलेममा भेला भए।

2तब परमेश्‍वरका जन मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्ने काममा लागे। ⓣ

3आफ्‍ना वरिपरिका जनताको डर तिनीहरूमा भए तापनि तिनीहरूले वेदी त्‍यसको जगमाथि निर्माण गरे र त्‍यसै वेदीमा तिनीहरूले परमप्रभुको निम्‍ति बिहान र बेलुकीका दुवै समयका बलिदानमा होमबलि चढ़ाए। ⓤ

4त्‍यसपछि प्रतिदिनको निम्‍ति तोकिएको संख्‍याअनुसार होमबलिका साथ तिनीहरूले तोकिएबमोजिम छाप्रोवासको चाड़ मनाए। ⓥ

5यीबाहेक नित्‍य होमबलि, औंसी-बलि र परमप्रभुले ठहराउनुभएका सबै पवित्र चाड़हरूका निम्‍ति बलि चढ़ाए। यिनका साथसाथै परमप्रभुको निम्‍ति ल्‍याएका सबै स्‍वेच्‍छा भेटी चढ़ाए। ⓦ

6परमप्रभुका भवनको जग हालसम्‍म बसालिएको नभए तापनि सातौँ महिनाको पहिलो दिनमा तिनीहरूले होमबलि चढ़ाउन सुरु गरे।

7तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्‍ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्‍पासम्‍म देवदारुका काठहरू ल्‍याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।

8यरूशलेममा भएको परमेश्‍वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात्‌ पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।

9परमप्रभुका भवनको निर्माण गर्नेहरूको रेखदेख गर्ने काममा येशूअ र तिनका छोराहरू र भाइहरू, र कादमीएल र तिनका छोराहरू (होदबियाका सन्‍तानहरू), र हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र भाइहरू— जो सबै लेवी थिए— एकसाथ लागेका थिए।

10जब बनाउनेहरूले परमप्रभुका मन्‍दिरको जग बसाले, तब पूजाहारीहरूले आफ्‍ना पोशाक लगाएर तुरहीका साथमा, र लेवीहरू (अर्थात्‌ आसापका छोराहरू) झ्‍यालीको साथमा इस्राएलका राजा दाऊदले तोकिदिएको रीतअनुसार परमप्रभुको प्रशंसा गर्न आ-आफ्‍ना स्‍थान लिए। ⓧ

11तिनीहरूले स्‍तुति गर्दै र परमप्रभुलाई धन्‍यवाद दिँदै यसो भनेर गाए, ⓨ उहाँ असल हुनुहुन्‍छ, उहाँको करुणा इस्राएलमाथि सदासर्वदै रहिरहन्‍छ।” अनि परमप्रभुका भवनको जग बसालिएको कारण सबै मानिसहरूले ठूलो सोरले परमप्रभुको स्‍तुति गरे।

12तर अघिको भवन देखेका धेरै जना वृद्ध पूजाहारीहरू, लेवीहरू र परिवारका मुखियाहरू भवनको जग बसालेको देखेर रोए र चर्को सोरले विलाप गरे, र अरू धेरैचाहिँ आनन्‍दले जयजयकार गरे।

13आनन्‍दले कराएको सोर र रोएको सोर कसैले ठम्‍याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्‍यो आवाज टाढ़ा-टाढ़ासम्‍म पनि सुनिन्‍थ्‍यो।