पुरानो नियमNNRV

प्रस्‍थान 20

1अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: ⓢ

2“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।

3“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।

4“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। ⓣ

5तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, ⓤ

6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।

7“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। ⓥ

8“शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू। ⓦ

9छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, ⓧ

10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।

11किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो। ⓨ

12“आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌। ⓩ

13“हत्‍या नगर्नू। ⓐ

14“व्‍यभिचार नगर्नू। ⓑ

15“चोरी नगर्नू। ⓒ

16“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। ⓓ

17“आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।” ⓔ

18जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे। ⓕ ⓖ

19तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस्‌ र हामी सुन्‍नेछौं, तर परमेश्‍वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”

20मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्‍वर तिमीहरूलाई जाँच्‍नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”

21मानिसहरू टाढ़ै उभिरहे। परमेश्‍वर हुनुभएको त्‍यो बाक्‍लो बादलमा उहाँको नजिक मोशा गए।

22तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्‍नू: स्‍वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।

23मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्‍ना निम्‍ति नबनाउनू।

24“मेरो निम्‍ति माटोको वेदी बनाएर त्‍यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्‍तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्‍यहाँ-त्‍यहाँ आएर म तिमीहरूलाई आशिष्‌ दिनेछु।

25तिमीहरूले मेरो निम्‍ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्‍यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्‍यसलाई अशुद्ध पार्नेछौ। ⓗ

26र मेरै वेदीमा खुट्‌किलो बनाएर नउक्‍लनू। किनभने त्‍यसो गर्दा त्‍यसमाथि तिमीहरूको नग्‍नता उघ्रनेछ।