पुरानो नियमNNRV

व्यवस्था 10

1त्‍यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काट्‌, र पर्वतमा उक्‍लेर मकहाँ आइज। अनि एउटा काठको सन्‍दूक पनि बना। ⓙ

2तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्‍दूकमा राख्‍नुपर्छ।”

3मैले बबुल काठको सन्‍दूक बनाएँ, अनि पहिलेका जस्‍तै दुई वटा शिला-पाटी काटें, र आफ्‍ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्‍लें।

4अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्‍निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो।

5त्‍यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्‍दूकमा ती पाटीहरू राखें, र ती अहिले त्‍यसमा छन्‌।

6(इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्‍यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्‍थानमा पूजाहारीको काम गर्न लागे। ⓚ

7त्‍यहाँबाट इस्राएलीहरू गुदगुदासम्‍म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए।

8आजसम्‍म चलिआएझैँ परमप्रभुका करारको सन्‍दूक बोक्‍न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष्‌ दिन त्‍यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो। ⓛ

9यसैकारण लेवीहरूलाई आफ्‍ना दाजुभाइहरूसँग कुनै हिस्‍सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्‍छ।)

10पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन। ⓜ

11अनि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्‍व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्‍छु भनेको देशमा पसी तिनीहरूले त्‍यो अधिकार गरून्‌।”

12यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर,

13र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।

14आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌।

15तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो।

16यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ।

17किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न। ⓝ

18उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ।

19यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ।

20परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ।

21उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो।

22तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ। ⓞ