नयाँ नियमNNRV

२ तिमोथी 4

1परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु,

2वचन प्रचार गर, समय र बेसमयमा तत्‍पर बस, अर्ती देऊ, हप्‍काऊ, उत्‍साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।

3किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,

4र सत्‍य कुरा सुन्‍नदेखि तर्किजानेछन्, दन्‍त्‍यकथाहरूतिर बरालिनेछन्‌।

5तिमीचाहिँ दह्रिला होऊ। कष्‍ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।

6किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ।

7मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।

8अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनुहुनेछ।

9मकहाँ चाँड़ै आउनलाई भरमग्‍दूर कोसिस गर।

10किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्‍यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्‍स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा। ⓚ

11लूका मात्र मसँग छन्‌। मर्कूसलाई खोजेर तिमी साथै ल्‍याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्‌। ⓛ

12तर तुखिकसलाई मैले एफिससमा पठाएको छु। ⓜ

13त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्‍टो र पुस्‍तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ। ⓝ

14तमौटे अलेक्‍जेन्‍डरले मलाई ज्‍यादै खराबी गर्‍यो। प्रभुले त्‍यसलाई त्‍यसका कामअनुसार बदला दिनुहुनेछ। ⓞ

15त्‍यसदेखि तिमी पनि होशियार बस, किनकि त्‍यसले हाम्रो प्रचारको घोर विरोध गर्‍यो।

16मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्‍यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्!

17तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।

18प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्‍वर्गीय राज्‍यको निम्‍ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्‌। आमेन।

19प्रिस्‍किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ। ⓟ

20इरास्‍तस कोरिन्‍थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्‍थामा छोडें। ⓠ

21हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्‍लौडिया र सबै भाइहरूले पनि।

22प्रभु तिम्रो आत्‍मासँग रहून्‌। तिमीसित अनुग्रह रहोस्‌।