पुरानो नियमNNRV

२ शमूएल 6

1त्‍यसपछि दाऊदले इस्राएलका तीस हजार चुनिएका मानिसहरूलाई बोलाए, ⓣ

2र यी सबै मानिसहरूका साथमा परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई यहूदाको बालाबाट दाऊद निस्‍केर गए, त्‍यो सन्‍दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान्‌ परमप्रभुको नाउँद्वारा डाकिएको थियो। ⓤ

3तिनीहरूले परमेश्‍वरको सन्‍दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्‍याए, र अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाड़ालाई हाँक्‍दै लगे। ⓥ

4तिनीहरूले परमेश्‍वरको सन्‍दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्‍यसको अगिअगि हिँड़े।

5दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्‍दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्‍यालीको सुरमा रमाहट गर्दैथिए।

6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले आफ्‍नो हात बढ़ाएर परमेश्‍वरको सन्‍दूकलाई थामे।

7तर परमप्रभु उज्‍जाहसँग क्रोधित हुनुभयो, र तिनको यस्‍तो लापरवाहीको निम्‍ति उहाँले तिनलाई त्‍यहाँ मार्नुभयो। यसरी तिनी परमेश्‍वरका सन्‍दूकको छेउमा मरे।

8परमप्रभु यसरी उज्‍जाहमाथि क्रोधित हुनुभएकोमा दाऊद रिसाए, र तिनले त्‍यस ठाउँको नाउँ फारेस-उज्‍जाह [1] राखे। त्‍यसको नाउँ आजसम्‍म त्‍यही छ।

9त्‍यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्‍दूक म आफूसँग कसरी राख्‍न सकुँला?”

10परमप्रभुको सन्‍दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्‌। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्‍दूक पुर्‍याए।

11यसरी परमप्रभुको सन्‍दूक ओबेद-एदोमको घरमा तीन महिनासम्‍म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष्‌ दिनुभयो। ⓦ

12परमप्रभुका सन्‍दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष्‌ दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्‍दूक धूमधाम आनन्‍दको साथ दाऊदको सहरमा ल्‍याए। ⓧ

13परमप्रभुको सन्‍दूक बोक्‍ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे।

14दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।

15तिनी र सबै इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै परमप्रभुको सन्‍दूक ल्‍याए।

16जब परमप्रभुको सन्‍दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्‍यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्‍ने उफ्रँदै र नाच्‍दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्‌।

17तिनीहरूले परमप्रभुको सन्‍दूक भित्र ल्‍याए, र दाऊदले सन्‍दूकको लागि टाँगेको पालभित्र राख्‍नका निम्‍ति तोकिएको स्‍थानमा त्‍यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्‍ने होमबलि र मेलबलि चढ़ाए।

18दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान्‌ परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए।

19अनि तिनले सबै मानिसहरूलाई, अर्थात्‌ इस्राएलीहरूका जम्‍मै जमघटको हरेक पुरुष र स्‍त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्‍लो र किसमिसको एक-एक झुप्‍पो दिए। तब सबै मानिसहरू घर गए। ⓨ

20दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।”

21दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्‍नुहुने परमप्रभुको सामुन्‍ने त्‍यो गरिएको थियो। परमप्रभुको सामुन्‍ने म उत्‍सव मनाउनेछु।

22म आफ्‍नो दृष्‍टिमा अझै बढ़ी अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्‍यौ, तिनीहरूले यसको निम्‍ति मलाई मान गर्नेछन्‌।”

23शाऊलकी छोरी मीकलको मर्ने दिनसम्‍मै छोराछोरी भएनन्‌।