पुरानो नियमNNRV

२ शमूएल 5

1तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।” ⓞ

2अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्‍याउने गर्नुहुन्‍थ्‍यो। अनि परमप्रभुले तपाईंलाई भन्‍नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्‌। तँ तिनीहरूको राजा हुनेछस्‌’।”

3तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्‍यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्‍ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।

4दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्‍म राज्‍य गरे। ⓟ

5तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्‍य गरे।

6त्‍यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्‍नुहुन्‍न, अन्‍धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्‍नेछन्‌।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्‍यै भित्र आउन सक्‍नेछैनन्‌। ⓠ

7तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।

8त्‍यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्‍छ, त्‍यसले दाऊदका शत्रु ‘अन्‍धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्‍यसैकारण तिनीहरू भन्‍छन्, “कुनै ‘अन्‍धा र लङ्गड़ा’ महलमा आउनेछैनन्‌।”

9दाऊद त्‍यही गढ़ीमा बस्‍न लागे, र त्‍यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए।

10अनि दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो।

11टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्‍ति एउटा महल बनाए। ⓡ

12परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्‍थिर गर्नुभयो, अनि तिनको राज्‍य आफ्‍नो प्रजा इस्राएलको निम्‍ति उच्‍च पार्नुभयो भनी दाऊदले अब थाहा पाए।

13हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्‍नीहरू र पत्‍नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्‍मे।

14यरूशलेममा जन्‍मेका तिनका सन्‍तानहरूका नाउँ यी नै हुन्‌: शम्‍मूअ, शोबाब, नातान, सोलोमन,

15यिभार, एलीशूअ, नेपेग, यापी,

16एलीशामा, एल्‍यादा र एलीपेलेत।

17दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए। ⓢ

18पलिश्‍तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।

19तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”

20तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम [1] राखियो।

21पलिश्‍तीहरूले आफ्‍ना मूर्तिहरू त्‍यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।

22पलिश्‍तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।

23दाऊदले परमप्रभुलाई सोधे, र परमप्रभुले भन्‍नुभयो, “यस पल्‍ट सोझै आक्रमण नगर्, तर घुमेर लहरे-पीपलहरूका सामुन्‍ने पछिल्‍तिरबाट उनीहरूलाई आक्रमण गर्‌।

24लहरे-पीपलहरूका टुप्‍पामा हुरुरुरु आवाज सुन्‍ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्‍यस बेला परमप्रभु पलिश्‍तीहरूको सेनालाई परास्‍त गर्न तेरो अगिअगि जानुहुनेछ।”

25दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्‍तीहरूलाई गिबोनदेखि गेजेरसम्‍म खेदेर धपाए।