पुरानो नियमNNRV

२ राजाहरू 25

1यसैले सिदकियाहका शासनको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍नो सबै सेनाको साथ यरूशलेमको विरुद्धमा अगि बढ़े, र त्‍यसको वरिपरि घेरा-मचान खड़ा गरे। ⓤ ⓥ

2सिदकियाह राजाको एघारौँ वर्षसम्‍म सहर घेराभित्र रह्यो।

3चौथो महिनाको नवौँ दिनमा सहरमा यति चर्को अनिकाल पर्‍यो, कि मानिसहरूलाई केही खानेकुरा थिएन।

4त्‍यही बेला सहरको पर्खाल भत्‍काएर बेबिलोनीहरूले सहरलाई घेरामा राखेकैमा सारा सेना राजाको बगैँचानेरका दुई पर्खालका बीचको ढोकाबाट राती भागे। तिनीहरू अराबातिर भागे, ⓦ

5तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए।

6अनि तिनी पक्राउ परे। तिनी रिब्‍लामा बेबिलोनका राजाकहाँ ल्‍याइए, जहाँ तिनलाई सजायको फैसला भयो।

7उनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै नजरको सामुन्‍ने मारे। त्‍यसपछि उनीहरूले आँखा फुटाइदिए, र तिनलाई काँसाको साङ्‌लाले बाँधेर बेबिलोनमा लगे। ⓧ

8बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाईसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति नबूजरदान, बेबिलोनका राजाका एक अधिकारी यरूशलेममा आए। ⓨ

9उनले परमप्रभुको मन्‍दिर र राजमहल र सहरका सबै घरहरूमा आगो लगाइदिए। सबै मुख्‍य-मुख्‍य भवनहरूलाई उनले जलाइदिए।

10राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्‍वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्‍काइदिए।

11सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे।

12तर ती सेनापतिले दाखबारी र खेतको काम गर्नका निम्‍ति अति दरिद्र मानिसहरूमा केही जनालाई त्‍यहाँ छोड़े।

13बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू, र काँसाको विशाल खड्‌कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे। ⓩ

14उनीहरूले भाँड़ाहरू, बेल्‍चाहरू, सलेदाका चिम्‍टाहरू, र कचौराहरू, र मन्‍दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे। ⓐ

15राजकीय अङ्गरक्षकहरूका सेनापतिले धुपौराहरू र छर्कने बाटाहरू, कञ्‍चन सुन वा चाँदीले बनाइएका जति सबै लगे।

16सोलोमनले परमप्रभुका मन्‍दिरको निम्‍ति बनाएका दुई वटा स्‍तम्‍भहरू, विशाल खड्‌कुँलो र गुड्‌ने आधारहरूको काँसो जोख्‍न नसक्‍ने थियो।

17प्रत्‍येक स्‍तम्‍भ अठाह्र हात अल्‍गो थियो। एउटा स्‍तम्‍भमाथिको स्‍तम्‍भ-शिर तीन हात अल्‍गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ त्‍यसको जालीसमेत ठीक त्‍यही किसिमको थियो।

18अङ्गरक्षकहरूका सेनापतिले मुख्‍य पूजाहारी सरायाह र दोस्रो दर्जाका पूजाहारी सपन्‍याहलाई र तीन जना ढोकेहरूलाई पनि कैद गरेर लगे। ⓑ

19सहरमा अझै रहेकाहरूमध्‍ये उनले योद्धाहरूका प्रमुख अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई लगे। उनले देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्‍य अधिकृत-सचिव र सहरमा फेला पारेका तिनका साठी जना मानिसहरूलाई पनि लगे।

20अङ्गरक्षकका सेनापति नबूजरदानले रिब्‍लामा बेबिलोनका राजाकहाँ तिनीहरू सबैलाई ल्‍याए।

21त्‍यहाँ हमातका देशको रिब्‍लामा बेबिलोनका राजाले तिनीहरूलाई मार्न लाए। यसरी यहूदा आफ्‍नो देशबाट कैदमा लगियो।

22बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई यहूदामा आफूले छोड़ेका मानिसहरूमाथि नियुक्त गरे। ⓒ

23जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्‍याहलाई राज्‍यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्‍पामा गदल्‍याहकहाँ आए— नतन्‍याहका छोरा इश्‍माएल, कारेहका छोरा योहानान, नतोपाती तन्‍हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्‍याह, र तिनीहरूका मानिसहरू।

24गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्‍वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”

25तर सातौँ महिनामा एलीशामाका नाति, नतन्‍याहका छोरा इश्‍माएल, जो राजकीय खूनका थिए, दश जना मानिसहरूलाई लिएर आए, अनि गदल्‍याह र तिनीसँग मिस्‍पामा भएका यहूदा र बेबिलोनका मानिसहरूलाई हत्‍या गरे।

26यसैले बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्‍म, सेनाका अधिकृतहरूसमेत सबै मिश्रदेशमा भागे। ⓓ

27यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको सत्ताईसौँ दिनमा राजा एबील-मरोदकले यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। ⓔ

28उनले तिनीसँग दयालु कुरा गरे, र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे।

29यसरी यहोयाकीनले आफ्‍ना कैदको लुगा उतारे र आफ्‍नो बाँकी जीवनभरि राजाकै टेबिलमा बसेर बारम्‍बार खाने गरे।

30राजाले तिनको निम्‍ति नियमित भत्ता तिनको जीवनकालभरि नै दिए।